६. आयुर्वेद शिक्षा एवं जनशक्ति विकास
६.१ चिकित्सा जस्तो प्राविधिक क्षेत्रमा योग्य दक्ष र कर्तव्यनिष्ठ जनशक्तिको अहम् भूमिकालाई मनन् गरी आयुर्वेद क्षेत्रमा समर्पित भै कार्य गर्ने आयुर्वेद निष्ठ जनशक्तिको प्रभावकारी उत्पादन र यसका विविध पक्षहरू (शिक्षा, सेवा र औषधी निर्माण) को गुणस्तरमा अभिवृद्धि तथा उत्तरोत्तर विकास गर्दै लैजानको लागि आवश्यक साधनयुक्त अनुसन्धानकेन्द्रसहित “राष्ट्रिय आयुर्वेद अध्ययन संस्थान” को स्थापना त्रि.वि.वि. अन्तर्गत गरिनेछ ।
६.२ भविष्यमा स्नातकोत्तर र विद्यावारिधि (पि.एच.डी.) स्तरीय आयुर्वेद शिक्षा प्रदान गर्ने उद्देश्यअनुरूप भौतिक पूर्वाधारहरूको विकास गर्ने गरी स्नातक स्तरीय आयुर्वेदीय जनशक्ति उत्पादन गर्ने कार्यक्रमलाई संचालन गरिनेछ ।
६.३ देशको प्राकृतिक स्रोतलाई अधिकाधिक परिचालन गरी जनतालाई प्रभावकारी अल्पव्ययसाध्य सुलभ र अपेक्षाकृत निरापद चिकित्सा सेवा प्रदान गर्ने परिप्रेक्ष्यमा आयुर्वेदको संरक्षण र यसको सर्वाङ्गिण विकास हेतु उच्चस्तरीय जनशक्ति नेपाल सरकारलाई आवश्यक हुनेहुँदा संख्यामा समिति नराखी उत्पादन प्रक्रियालाई निरन्तर संचालन गरिनेछ ।
६.४ मध्यम तथा आधारभूत स्तरीय आयुर्वेदीय जनशक्तिको उत्पादन गरिनेछ र सोको लागि शैक्षिक कार्यक्रम संचालन गरिनेछ ।
६.५ आयुर्वेद चिकित्सा शास्त्रको परिचयात्मक ज्ञान प्राप्त गर्ने जिज्ञासु, स्वदेशी र विदेशी नागरिकलाई पुनर्ताजगी (रिफ्रेसर) तालीम तथा अध्ययन भ्रमणको व्यवस्था मिलाइनेछ ।